काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले गैरकानुनी रूपमा आर्थिक अनियमितता गर्ने जोकोहीलाई पनि सरकारले नछाड्ने बताए । सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् ।
कसैप्रति राजनीतिक प्रतिशोध नराखिएको भन्दै उनले कानुनको नजरमा दोषी देखिए कारबाही हुने बताए ।
‘कसैप्रति राजनीति प्रतिसोध वा अन्य कुनै नियत राखिएको छैन । कानुनको नजरमा दोषी देखिए कारबाही हुन्छ । भ्रष्टाचार र अनियमितताको यो सुरुवात मात्रै हो अझ ठुला भ्रष्टाचार अनियमितताको पोल खुल्दै जानेछ, ‘बैठकमा प्रचण्डले भने,‘२०४६ यताका राजकीय निकायमा बसेका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरिएको छ । त्यसपछि देशमा सुशासन कायम गर्ने सोचिएको छ ।’
बैठकमा प्रचण्डले सरकारले गरेको राम्रो कामको पार्टी पङ्क्तिले प्रचार गर्नुपर्ने बताएको एक नेताले जनाकारी दिए ।