काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत कारबाही गर्नुपर्ने बताएका छन् ।
पूर्व मन्त्रीसमेत रहेका चौधरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए । पहिलो चरणको अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकीय र उच्चपदस्थ कर्मचारीहरू तानिएका बताएका छन् ।
उनले हिजो र आज शीर्ष नेतृत्व तहमा देखिएको भेटघाटले शीर्ष नेतृत्वको समेत संलग्नता रहेको सजिलै अनुमान लगाउन सकिने बताएका छन् ।
‘उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै संस्थागत रूपमा मन्त्रिपरिषद्को बैठकले गरेको थियो । यसबाट प्रस्ट हुन्छ(स्वयं सरकार नै नेपालीलाई भुटानी बनाउने काममा लागिपरेको देखिन्छ’, चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसैले तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहीको लागि योग्य हुनुहुन्छ, उहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्दछ ।’