काठमाडौं – सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।
सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो ।
नेपाल सरकारको लगानी र भारतीय निर्यात-आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।
सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।
सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।
प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो । तर, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।