काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई जोगाउन नलाग्ने स्पष्ट पारेका छन् ।
‘नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले पूर्ण सहयोग गर्छ । यसमा तेरो वा मेरो भन्ने कुरा छैन । संविधान र कानुनको परिधिमा टेकेर जोसुकैलाई कारबाही प्रक्रिया अगाडि बढाउन खुट्टा कमाउनु हुँदैन । हामी केपी ओलीलजस्तो खुलेआम भ्रष्टाचारी जोगाउन लाग्दैनौं । चाहे त्यो गृहमन्त्री होस् वा गृहमन्त्रीभन्दा माथिको मान्छे होस् । कसैलाई पनि छाड्नुहुन्न । शरणार्थी पनि नक्कली बनाउने यार ! ’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा खतिवडाले भने ।
एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी प्रहरी महानिरीक्षक र पार्टी अध्यक्ष केपी ओलीसँग कुरा गर्दागर्दै बाटोमा बिलाएको भन्दै उनले व्यंग्य पनि गरे । खतिवडाले भने, ‘टोपबहादुरजी आईजीपी र पार्टी अध्यक्षसँग कुरा गर्दा गर्दै बाटैमा बिलाउनुभयो । उहाँले भाग्ने, लुक्ने र नेताको सोर्स लगाउने कुरा छाडेर सत्य तथ्य जनतालाइ भन्नुपर्थ्र्यो । कोही पनि देशलाई लुट्ने र चुस्ने काममा लाग्नुहुँदैन । ‘उनले नक्कली शरणार्थी प्रकरणमा लिएको कदमप्रति गृहमन्त्री र सरकारलाई धन्यवाद पनि दिए ।