काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरवार पुगेका ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेको जनाइएको छ ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’
उक्त प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् भने प्रहरीले खोजी कार्य गरिरहेको छ ।