काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोल्न सुरु भएको बताएका छन् ।
पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बोल्दै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले यो ट्रेलर मात्र भएको दाबी गरे
‘अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्डले भने ।
यसबीचमा सरकारमाथि घेराबन्दी र दबाब आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए ।
‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुला ठुला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी समुदाय साथमा भयो भने जतिसुकै ठूलो घेराबन्दी र दबाब र धम्कीको सामना गरिनेछ ।’
यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले दलितहरूका लागि विशेष घोषणा गर्ने प्रचण्डले आश्वासन दिए ।