बैतडी – बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प भएको छ । चैत्र अन्त्यतिर मात्रै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) ओम प्रकाश पाण्डेको राजनीतिक खिचातानीका कारण एक महिनामै पुनः सरुवा भएपछि नगरपालिकाको सम्पूर्ण काम रोकिएको हो ।
अधिकृत विहीन नगरपालिका भएको महिना दिन पुग्नै लाग्दा पनि को आउने भन्ने अझै कुनै ठेगान नभएको नगरपालिकाको सामाजिक विकाश समिति संयोजक हरिस विष्टले बताए । उनले भने, ‘आषाढ मसान्त नजिकिँदै छ प्रशासनिक र आर्थिक कारोबार सबै रोकिएका छन्, योजनाको भुक्तानी दिन बाँकी छ, सामाजिक सुरक्षा भत्ता लगायत नगरपालिकाका गर्ने अत्यावश्यक सबै काम रोकिएका छन् ।’
वडा नम्बर ८ का वडाध्यक्षसमेत रहेका विष्टका अनुसार नगर कार्यपालिकाको निर्णयसहित नगर प्रमुख गौरी सिंह रावल काठमाडौँ आएर करिव २/३ हप्ता देखी मन्त्रालय धाइरहेका छन् । राजनीतिक खिचातानीका कारण यसअघि निमित्तको जिम्मेवारी सम्हालेका राजेन्द्र भट्टलाई जिम्मेवारी दिन आनाकानी गरिएको छ ।
उपसचिवको दरबन्दी रहेको नगरपालिकामा शाखा अधिकृतलाई जिम्मेवारी नदिइएको हो । मेयर रावलसँग आफूहरू सम्पर्कमा रहेको भन्दै विष्टले सोमबारसम्म उपसचिवको टुङ्गो लाग्ने जानकारी पाएको बताए । यदि सोमबारसम्म पनि नगरपालिकामा आउने उपसचिवको टुङ्गो नलागे उपप्रमुख सहितको टोली काठमाडौँ आउने तयारीमा रहको उनले बताए ।
उनले भने, ‘नगर प्रमुख ज्यूले सोमबार सम्म हुन्छ भन्नुभएको छ, यदि भएन भने उपप्रमुख कमल बोहरासहितको टोली काठमाडौँ आउँदै छौँ ।’ यता नगर प्रमुख रावलले मन्त्रालय धाउँदा धाउँदै आतङ्कित भइसकेको बताएका छन् । ४ पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई भेटे पनि कार्यकारी पाउने कुनै टुङ्गो नलागेको बताए ।
रावलका अनुसार आन्तरिक बढुवाबाट उपसचिव आएपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिने मन्त्रालयको जवाफ छ । उनले भने, ‘काठमाडौँ आएको ३ हप्ता भइसक्यो, म आतङ्कित भइसकेको छ, ४ चोटि मन्त्रीलाई भेटिसके उपसचिव छैन, शाखा अधिकृतलाई पठाउन मन्त्रालयले मान्दैन ।’ ‘उनले अगाडी थपे ,’भोलि आन्तरिक बढुवा हुँदै छ रे त्यसपछि सबै प्रक्रिया मिलाएर जेठ पहिला सातासम्म हामीले मान्छे पाउने आश्वासन पाएका छौँ ।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारीलेसमेत तलब नपाएको गुनासो गरेका छन् ।