काठमाडौँ – नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता रायमाझी अहिले फरार सूचीमा छन् । शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशङ्का व्यक्त गरे । सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।
नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानमा आफ्नो दलले सकारात्मक सहयोग पुर्याउने पनि बताए ।
उनले उक्त प्रकरणमा सीमित मान्छेलाई कारबाही गरेको देखाएर अरूलाई उम्काउन खोजिएको त होइन ? भन्दै प्रश्न गरे ।
तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पुरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढङ्गले संसदबाट कानुन पारित गर्न खोजेको आरोप समेत लगाए ।