महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । सई चैंसिरमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले शनिबार दिउसो पक्राउ गरेका हुन् भने मुख्य ब्यक्ति पक्राउ पर्न सकेका छैनन। उनी भारततर्फ फरार भएको आशंका छ।
शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोलीमाथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए। ती युवा एक आपसमै झगडा गरिरहेका थिए। अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको हो।
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ। स्थानीय जय बैच र विक्रम नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साउदले बताए। उनका अनुसार खुकुरी प्रहार गर्ने रोहन बैच भने फरार छन्। उनको खोजी कार्य चलिरहेको छ।
खुकुरी प्रहार गर्ने बैच शुक्रबार दिनभरी इलाका प्रहरी कार्यालय दोधारामै थिए। युवाहरुबीच भएको झगडाबारे छलफलका लागि उनी इलाका प्रहरी कार्यालयमा आएको खुलेको छ। साँझ छलफल सकेर फर्केका थिए। ‘उनी भारततिर भागेको हुन सक्ने आशंका छ,’ प्रहरी निरिक्षक साउदले भने, ‘घटनामा संलग्न अन्यको पनि खोजी चलिरहेको छ।’ उनका अनुसार खुकुरी प्रहार हुँदा १०/१२ जनाको समुह थियो।
विवाद बढदै जादा बैचले सई चैंसिरमाथि खुकुरी प्रहार गरेका थिए। उनको बायाँ पाखुरामा सामान्य चोट लागेको छ। घटनापछि सबै युवा फरार भएकोमा दुई जना आज दिउसो पक्राउ परेका हुन। घटनामा संलग्न युवाहरु तस्करीमा संलग्न हुने गरेको र पछिल्लो समय सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न थालेपछि आक्रमण भएको आशंका पनि गरिएको छ।
पक्राउ परेका जय बैच तस्करी गर्ने समूहको नाइके भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रिने सरसमान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउन थालेपछि यस्तो काम गर्नेहरु नगरपालिका र जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए।
उनीहरुले ब्यवहारिक रुपमा घरायसी सरसमान ल्याउन पाउनुपर्ने माग गरेका थिए। तर प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले घरायसी सामानको नाममा तस्करी हुने गरेको र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। त्यसयता तस्करीमा संलग्न युवा र सशस्त्र प्रहरीबीच वादविवाद हुँदै आएको छ।