काठमाडौँ- भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू तयार रहेको बताए । कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रिज (सिआइआई)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत आदान प्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतमा प्रशस्त सम्भावना रहेकाले लगानीका लागि भारतीय पक्षलाई आग्रह गरे । ‘नेपालमा पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको छ,’ गोल्छाले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के–कस्तो सहयोग चाहिन्छ, हामी गर्न तयार छौं ।’ वैदेशिक लगानी सहजीकरणका लागि महासंघले सहायता कक्ष स्थापना गरेको उनले बताए । नेपालको पर्यटन क्षेत्रमा लगानी सम्भावना बढ्दै गएको पनि गोल्छाको भनाइ थियो । ‘पहिले घुम्न आउनोस् । त्यसपछि लगानी र आम्दानी पनि गर्नुहोस्,’ उनले भने ।
नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि गोल्छाले बताए । नेपाली व्यवसायीले भारतमा निर्यात बढाउन खोजिरहेकाले व्यापार सहजीकरणका लागि पनि उनले आग्रह गरे । ‘भारत र तेस्रो मुलुकको निर्यातमा भारतले नेपाललाई सहजीकरण गरिदिनुपर्छ,’ गोल्छाले भने । नाकामा पूर्वाधार सुधार र गैर भन्सार अवरोध हटाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सिआइआईका अध्यक्ष टिभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । सिआइआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल–भारतबीचको संयुक्त व्यावसायिक फोरमका बारेमा जानकारी गराइन् । दुई देशका उद्यमी–व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गरेकी छिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराइन् । कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए ।
यसअघि, महासंघ र सिआईआईका पदाधिकारीहरु बीच द्धिपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो ।