काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको बैठकमा निरन्तर उपस्थित हुने १० जना सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले यस्तो प्रस्ताव राखेका हुन् ।
‘अनुपस्थित हुने सांसदको नाम मात्रै प्रस्तुत हुने परम्परा छ । अब लगातार संसदमै बस्ने कमसेकम १० जना सांसदको नाम अधिवेशनको अन्त्यमा बोलेर प्रस्ताव गर्नुपर्छ,’उनले भने ।
हाल संसद बैठकमा निरन्तर दश वटा बैठकमा अनुपस्थित हुने सांसदको नाम सुनाउने अभ्यास छ । संविधान र प्रतिनिधिसभा नियमावलीले समेत निरन्तर दश वटा बैठकमा अनुपस्थित रहने सांसदले सूचना दिनुपर्ने हुन्छ । अन्यथा बिना सूचना निरन्तर दश वटा बैठकमा अनुपस्थित भएको खण्डमा सांसद नै खारेज हुने सम्मको व्यवस्था छ ।
यसो हुँदा समेत सांसदहरूको संसद बैठकमा उपस्थिति कमजोर देखिएको भन्दै सांसद खतिवडाले निरन्तर उपस्थित हुने सांसदको नाम समेत सदनमै सुनाउने प्रस्ताव गरेका हुन् । यसो गर्दा संसद बैठकमा सांसदहरूको उपस्थिति बलियो हुन सक्ने उनको विश्वास छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले समेत संसद बैठकमा सांसदहरूको उपस्थिति कमजोर भएको गुनासो गरेका थिए । यसतर्फ ख्याल गर्न उनले राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गरेका छन् ।