- राम धामी
डडेल्धुरा- राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको सुदुरपश्चिम खण्डमा सडक निर्माण कार्य हुन सकेको छैन ।
झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेल्धुराको रूपाल पुग्ने करिब एक हजार तीन सय ५२ किलोमिटर राजमार्गको सुदूरपश्चिम खण्डमा हालसम्म काम शुरु नभएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका डिभिजन प्रमुख शम्भुप्रसाद आचार्यले बताए । उनले चालू आर्थिक बर्षमा समेत सुदूरपश्चिम खण्डका लागि बजेट बिनियोजन नभएको बताउँदै अगामी बर्षदेखि काम शुरु गर्न बजेट माग गरिरहेको जानकारी दिए ।
सरकारको उच्च प्राथमिकतामा रहेको राजमार्गको निर्माण कार्यले सुदूरपश्चिम प्रदेशमा गति लिन नसकेकोमा यँहाका अगुवाहरु अविलम्व काम शुरु हुनुपर्ने माग गरेका छन । डडेल्धुराको रुपाल जोगबुडा खण्डमा सडक बिभागको पुरक बजेट र स्थानीय पालिकाको बजेटबाट ट्रयाक खोल्ने काम र प्रारम्भिक सर्भेक्षणबाहेक लोकमार्गको काम हुन नसकेको सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक ‘पुकार’ ले जानकारी दिए ।
आयोजनाबाट बजेट बिनियोजन नहुँदा मदन भण्डारी राजमार्ग आयोजनाको काम गर्न स्थानीय तहबाट मात्रै रकम बिनियोजन गर्न कठिनाइ भइरहेको परशुराम नगरपालिका नगर प्रमुख भरत बडाएर जोशीले बताए । ‘यति ठुलो राष्ट्रिय गौरवको सडक आयोजना निर्माण गर्न स्थानीय तहको बजेट प्रयाप्त हुँदैन,’ उनले भने, ‘आयोजनाले बजेट बिनियोजन नगर्दा सुदूरपश्चिम प्रदेशमा सडक आयोजनाको काम अघि बढाउन चुनौती थपिएको छ ।’
संघीय आयोजना भएकाले सुदूरपश्चिम प्रदेश सरकारले पनि मदन भण्डारी राजमार्ग निर्माणका लागि बजेट बिनियोजन गरेको छैन । नयाँ ट्रयाक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्राटुक्रा सडक जोडेर राजमार्गको निर्माण भइरहेको छ । बिभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म जोड्ने चौथो राजमार्गका रुपमा मदन भण्डारी राजमार्गलाई सरकारले अघि बढाएको हो । मन्त्रिपरिषदको २०७५ जेठ ६ गतेको निर्णयअनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आव २०७५÷७६ देखि निर्माण शुरु भएको हो ।
राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ । महेन्द्र राजमार्गको समान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने मदन भण्डारी राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिएको डिभिजन प्रमुख आचार्यले बताए । आयोजनाको निर्माण कार्य विसं २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाल मदन भण्डारी राजमार्ग आयोजनाले ७६१ किलोमिटर सडकको निर्माण कार्य गर्दै आइरहेको छ । बाँकी ६८५ किलोमिटर सडक विभाग अन्र्तगतकै आयोजनाले हेरिरहेका छन । राजमार्गमा एक सय ८५ वटा पुलको निर्माणसमेत गर्नुपर्नेछ । आयोजनाको शुरु अनुमानित लागत ७५ अर्ब छुट्याइएको थियो ।
दुई लेनको यो राजमार्ग झापाको शान्तिनगरदेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्युठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेल्धुराको जोगबुडाहुँदै रुपालसम्म पु¥याउने योजना छ ।
मध्यपहाडी राजमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई र पूर्वदेखि पश्चिमसम्मलाई समेट्नेछ । चुरे तथा भित्री मधेसका उपत्यकालगायत मुलुकका प्रमुख सहरहरुलाई जोडने यो सडक आयोजना औद्योगिक करिडोरका रुपमा अघि बढाइएको सडक विभागका अधिकारीहरु बताउछन । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चुरे क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्न आवश्यक देखिएपछि लोकमार्गको योजना बनेको हो,’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा संघीय सरकार पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले बताए ।
सडक बनेपछि चुरे क्षेत्र आसपासका चुनढुंगा, कोइला, फलामलगायत खानी सञ्चालनको प्रशस्त सम्भावना रहेको उनले जानकारी दिए । भित्रिमधेस क्षेत्रका प्रमुख सहर जोडिने भएकाले त्यहाँका उत्पादित वस्तुले बजार पाउने र ती सहरमा औद्यौगिकलगायत आर्थिक गतिविधि बढ्ने भएकाले राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग आयोजना कार्यान्वयन गरिएको पुर्वमन्त्री बलायरले बताए । सुदूरपश्चिम प्रदेशमा मदन भण्डारी राजमार्ग आयोजना कार्यान्वयन गर्न बजेट बिनियोजन हुनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री पठानसिँह बोहराले बताए ।
पहाड तिरका बस्तीहरुमा बसाई सराइ निकै चाप बढेको र पहाडका तमाम बस्ती खाली भइरहेको अबस्थामा तराईमा जनघनत्व घटाउन मदन भण्डारी राजमार्ग आयोजना निकै प्रभावकारी हुने सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । ‘राजमार्ग निर्माण कार्य पुर्वतिर द्रुत गतिमा बढेको छ भने सुदूरपश्चिम खण्डमा काम भइरहेको छैन,’ सुदूरपश्चिम प्रदेश सभाका साँसद डा.ताराप्रसाद जोशीले भने, ‘संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा मदन भण्डारी राजमार्गको काम अविलम्व अघि बढाउनुपर्छ ।’