काठमाडौं – अमेरिकामा नर्सको अभाव भएको छ । कोरोना महामारीपछि करिब १ लाख जनाले नर्सिङ पेशा छोडेपछि पेशानै संकटमा पर्नसक्ने जोखिम रहेको आपतकालीन नर्स संघको भनाइ छ ।
यस संघमा ५० हजार भन्दा बढी नर्स आवद्ध छन् । ४५ वर्ष नर्सिङ पेशामा बिताएका अध्यक्ष टेरी फोस्टर भन्छन्-‘मैले आपतकालीन कक्षमा ४५ वर्ष बिताएँ । अब अर्को कुनै व्यक्तिको मुखबाट तपाईंले यत्तिका दशक बिताएको कुरा सुन्न सम्भवत सक्नुहुन्न’, उनले भने ।
कोरोना महामारीपछि पेशाप्रतिको आकर्षण नै घटेको फोस्टर बताउँछन् । सन् २०२३ मा एएमएन हेल्थ केयरले नर्सिङ पेशामा आधारित सर्भेक्षण गरेको थियो । १८ हजार नर्समा गरिएको सर्भेक्षणले पेशाप्रति वितृष्णा बढेको देखाएको छ । एएमएनले प्रमुख क्लिनिकल अफिसर कोल एडमोन्सन भन्छन्, ‘नर्सिङ पेशाप्रतिको वितृष्णा अमेरिकी स्वास्थ्य क्षेत्रका लागि एक आँधी हो, यसले स्वास्थ्य क्षेत्रलाई तहसनहस बनाउन सक्छ ।’
नवप्रवेशीहरूमानै बढ्दो वितृष्णा नर्सिङ क्षेत्रमा खतराको संकेत रहेको उनको भनाइ छ । सर्वेक्षणका अनुसार पेशाबाट निवृत्त अवस्थामा पुगेका ७८ प्रतिशत नर्स सन्तुष्ट रहँदा भर्खरै सेवा प्रवेश गरेका ६३ प्रतिशतले असन्तुष्टी व्यक्त गरेका छन् भने करिअरको मध्यमा रहेका ६२ प्रतिशतले पनि वितृष्णा पोखेका छन् ।
अधिकांश नर्सले पेशानै परिवर्तन गर्ने सोच बनाएका छन् । सर्वेक्षणमा सहभागीमध्ये १५ प्रतिशतले मात्रै सेवालाई निरन्तरता दिने बताएका छन् । नर्सहरूलाई गरिने व्यवहारले पनि पेशाप्रति वितृष्णा बढेको फोस्टर बताउँछन् । रेस्टुँरामा महिला वेटर र विमान परिचारिकालाई भन्दा बढी नर्सहरूमाथि र्दुव्यवहार भइरहेको उनी बताउँछन् ।