काठमाडौं – उपसभामुख इन्दिरा रानाले महिला हिंसा विरुद्धको आवाज महिला हिंसा निवारणका लागि प्रतिनिधित्व गर्ने हुनाले निरन्तर बुलन्द गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित महिला हिंसा निवारणका लागि नीतिगत प्रभाव पार्ने शैक्षिक प्रतिष्ठानसँगको अन्तक्र्रिया कार्यक्रममा उपसभामुख रानाले महिला हिंसा महिलाको मात्र समस्या नभई सामाजिक समस्या रहेकाले सबै पक्ष एकजुट भएर आवाज उठाएमा मात्र समस्या समाधान हुने बताउनुभयो ।
“सबै एकजुट भएमा मात्र महिला हिंसा निवारणमा टेवा पुग्छ । हिंसा विरुद्धमा चर्किएका आवाज निरन्तर रुपमा बुलन्द गरिरहनुपर्छ”, उहाँले भन्नुभयो ।
उपसभामुख रानाले महिलाका अधिकारका लागि अठोट भएर लाग्नुपर्ने बताउनुभयो । आफूले अधिकारका लागि आवाज उठाउँदा सेवा सुविधा नपुगेर माग गरेको गलत प्रसारणप्रति उहाँले गुनासो व्यक्त गर्नुभयो ।
शिक्षा पद्धतिमा लैङ्गिकतालाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा रमेश भट्टराईले परपम्परागतदेखि पाठ्यक्रममा महिलाको चित्रणमा विभेद गरेको बताउनुभयो । “पाठ्यक्रममा ढिकी कुट्ने, जाँतो चलाउने, बालबच्चा स्याहारसुसार गर्नेलगायत महिलाको भूमिकालाई चित्रण गरिने विषयवस्तु उचित छैनन । बालबालिकाको स्तरअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । विद्यालयमा समावेश गरेका लैङ्गिकतासम्बन्धी विषयका पाठ्यक्रममा सन्तुलन नरहेको र रहेका विषयवस्तुको विश्लेषण उचित ढङ्गले गर्नुपर्नेमा भट्टराईको भनाइ छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले विद्यार्थीको बुझाइको स्तरअनुसार पाठ्यक्रम निमार्ण हुनुपर्ने बताउनुभयो । “बालबालिकाले बुझ्न सक्ने क्षमताअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्दछ । विगतका असल अभ्यासलाई निरन्तरता दिई दुर्बल पक्षलाई परिमार्जन गर्दै लैजानु आजको आवश्यकता हो । सही चित्रण र त्यसको विश्लेषणले विद्यार्थी मानसिकतामा परिवर्तन गराउनुपर्छ”, उहाँले भन्नुभयो ।
सहसचिव शर्माले वर्तमान समयमा छात्रामाथि भएका यौनजन्य हिंसाको उजुरी, फैसलाको अध्ययन गरी सिफारिस गर्न आयोगलाई अनुरोध गर्नुभएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम ढुङ्गानाले समस्या पाठ्यक्रममा नभई कार्यान्वयनमा रहको बताउनुभयो ।