काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भने -‘हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि खर्चको मनिटरिङ गर्छौं’ ।
अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री डा। महतले बताए । ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएर पनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ’, उनले भने ।
‘ब्याजदर धेरै छ, ऋण लिएकाहरु आहत छन्, कसरी सम्भव छ ? भन्ने प्रश्न पनि छ । अवश्य पनि अहिले राजश्व घटेको छ । अवश्य पनि अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ । उदासिनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ । खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना महिना दिनमा गर्नुपर्छ । अहिले ब्याजदर उच्च भएको हुनाले पहिला जसले लो ब्याजदरमा ऋण लिएका थिए, उनीहरुले पनि हिसावकिताव तिर्न सकेका छैनन्, अब लिन खोज्नेले पनि लिन खोजेका छैनन् । सरकारकोतर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्नेकुरामा पनि समस्या देखिएको छ । मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ । सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ । व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुन्छ र बिजनेस भायलबल हुन्छ ।’उनले भने ।