धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा –८ को उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनसम्मको विषय केही समयअघि निकै तातेको थियो ।
उपमहानगरपालिकाका–१७ सामुदायिक र १ संस्थागत विद्यालयको कक्षा ८ को नतिजा शून्य रहेको परिणाम सार्वजनिक भएसँगै त्यसले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँदै देशव्यापी चर्चा पायो।
उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा गत ५ चैतदेखि सुरु गरेको थियो। हतारमा परीक्षाको नतिजा ३ वैशाखमा प्रकाशन गरियो । धनगढी उपमहानगरपालिकाले मिडियाबाजी गर्नुभन्दा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नतिजा प्रकाशन, पुनर्योग तथा मौकापरीक्षा सञ्चालन गरिसक्नुपर्ने थियो । तर, उपमहानगरपालिका कक्षा ८ को मौका परीक्षा नयाँ शैक्षिक सत्र भर्ना अभियान सकिनै लाग्दाअघि बढाउने निर्णय गरेको छ । उपमहानगरपालिकाले कक्षा ८ को मौका परीक्षा वैशाख २९ र ३० गते सञ्चालन गर्ने गरी केन्द्र तोकेको छ।
नयाँ शैक्षिक सत्रका लागि वैशाख महिना विद्यार्थी भर्ना अभियान हो । कक्षा ८ मा उत्तिर्ण भएका विद्यार्थी कक्षा ९ मा अध्यापन गर्न जाँदा उनीहरूको आधाभन्दा पढाइ प्रभावित हुने शिक्षक बताउँछन्।
नेपाल शिक्षक संघ धनगढी नगर सभापति मोहन भण्डारी अहिले विद्यार्थीले पुनर्योगका लागि निवेदन दिँदा पुनर्योग गर्दा थुप्रै त्रुटि भेटिएको बताउँछन् । ‘केही विद्यार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिनु भएको थियो । त्यो गर्दा नतिजा राम्रो देखियो । नम्बर चढाउँदा वा जोड्दा गलत जोडेको देखियो,’ उनले भने । यसले थुप्रै त्रुटि गरेर विद्यार्थीको जीवनमा खेलवाड गर्न खोजिएको उनको आरोप छ।
‘पुनर्योग गर्दा नेपालीमा ८७, अंग्रेजीमा ५६, गणितमा ११२, सामाजिकमा १५३, विज्ञानमा ७३, स्वास्थ्यमा ६३, नैतिकमा २३, पेसामा १२२ र कम्प्युटरमा ९० जना उतिर्ण भएका छन् । उत्तरपुस्तिका पुनः परीक्षण नै गरिएको भए नतिजामा थप सुधार आउने थियो । यहाँ त शिक्षक र विद्यालयलाई आरोप लगाएर नगरपालिकाले ठूलो गल्ती गरेको छ,’ उनले भने । उनले विद्यार्थीको मनोबल र भावनामाथि खेलवाड गर्ने काम भएको आरोप लगाए।
‘वैशाख अन्तिममा मौकापरीक्षा हुँदै छ । कहिले नतिजा प्रकाशन होला र कहिले विद्यार्थी भर्ना होलान। यसले त विद्यार्थीको पढाई नै प्रभावित हुन्छ,’ उनी भन्छन् ।