धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको बञ्चरोको प्रहारबाट मृत्यु भएको खुलेको छ। शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो प्रहारबाट मृत्यु भएको खुलेको हो।
काठ काट्ने क्रममा स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले चलाइरहेको बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले बताए।
लालबहादुरले साबिती बयान दिएपछि प्रहरीले ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेको छ। घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको छ।
उनीसँगै पक्राउ परेका ४ जनालाई परिवारको जिम्मा लगाइएको छ। यसै गरि डिभिजन वन कार्यालय कञ्चनपुरले पनि काठ काटेकोबारे अनुसन्धान गरिरहेको छ।
छानविन गर्न शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीको नेतृत्वमा टोली खटाइएको छ। सामुदायिक वनले रुख कटानका लागि आदेश समेत नलिएको पाइएको छ। छानविन समितिको प्रतिवेदनका आधारमा रुख काट्ने र काट्न लगाउनेमाथि वन ऐन अनुसार कारबाही गरिने डिभिवन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले बताए।