काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चुरोट, बिँडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सुर्तीजन्य कम्पनीहरूले किराना तथा होलसेल पसललगायतको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो ।
‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सुची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुट्का आदिका मूल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सूचनामा भनेको छ ।
सो सूचना अनुसार ‘यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइन्छ ।’