डडेल्धुरा- डडेल्धुराको आलितालमा लामो समयपछि पुनः डुंगा संचालनमा ल्याइएको छ। आलिताल गाउँपालिका–३ मा रहेको आलितालमा बुधबारबाट पुनः डुंगा संचालनमा ल्याइएको हो।
वडा कार्यालयको बजेटबाट बिग्रिएका डुंगा मर्मत गरेर संचालनमा ल्याइएको आलिताल–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिए। उनका अनुसार तीन वर्षपछि आलितालमा पुनः डुंगा संचालनमा आएको हो।
‘यहाँ रहेका डुंगा बिग्रिएको तीन वर्ष भइसकेको थियो। हामी जनप्रतिनिधि भएर आइसकेको ती डुंगाहरू मर्मत गरेर संचालनमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘हाललाई २ वटा डुंगा मर्मत गरेर संचालनमा ल्याइएका छौं,’
सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो तालका रूपमा रहेको आलितालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल–३ मा रहेको आलितालमा पुनः डुंगा सञ्चालन गरिएपछि पर्यटकहरू बढ्ने गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।
उनले आलिताल घुम्न र प्राकृतिक रमणिय दृश्यको आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आग्रह गरे। उनका अनुसार दैनिकजसो तालको अवलोकनका लागि बाह्य जिल्लाका साथै भित्रि मधेश क्षेत्रकै आलिताल, जोगबुढा क्षेत्रका पर्यटक आलितालसम्म पुग्ने गरेका छन्।
पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको थियो। तर, स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि तालको मुहार नै फेरिएको छ।
समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ। एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४०० मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ।
डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ। डडेल्धुरा सदरमुकामबाट झण्डै ६० किलोमिटर पश्चिममा रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी छ। कञ्चनपुरको बेतकोट भएर करिब ४५ किलोमिटरको सडक बाटो भएर आलिताल पुग्न सकिन्छ। मध्यम खालको तापमान हुने आलिताल क्षेत्रमा तालले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउन गाउँपालिकाले अहिले प्रयास गरिरहेको छ।
गाउँपालिकाले तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरू निर्माण गरेको छ। ताल क्षेत्रमा वनभोजका लागि भान्साघरलगायतका तालको पानी निकास हुने ठाँउमा व्यवस्थित रूपमा निकासका लागि नाला निर्माण गरिएको छ। तालमा पिकनिक स्पटहरूसमेत निर्माण गरिएको छ।