काठमाडौं – नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव बिस्ना चन्दले राजीनामा दिएकी छन् । संघको हालै सम्पन्न नेपालगञ्ज महाधिवेशनबाट आफ्नो सहमतिबेगर जबर्जस्ती सचिव बनाइएको र अहिले त्यसबाट पनि घटुवा गरिएको भन्दै उनले सो पदमा नरहने घोषणा गरेकी हुन् ।
आज अध्यक्ष क्षितिज थेवेलाई राजनीमा पत्र बुझाउँदै उनले अबदेखि संगठनको साधारण सदस्यसमेत नरहने जानकारी गराएकी छन् । युवा संघमा आफ्नो लामो योगदान रहेपनि त्यसअनुसार मूल्याङ्कन नभएकोमा चन्दको चित्त दुखाई छ । सचिवबाटसमेत घटुवा गरेर मनोमानी ढंगले पदाधिकारीको नामलिष्ट सार्वजनिक गरिएकोमा पनि उनको गुनासो छ ।
नेपालगञ्जमा सम्पन्न संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिवमा सर्वसम्मत निर्वाचित चन्दले त्यसअघि आफू सचिवमा दोहोरिन नचाहेको बताएकी थिइन् । तर, महेश बस्नेतलगायत युवा संघका नेताहरुले वाचन गरेको पदाधिकारीको सूचीमा उनको नाम सचिवमा राखिएको थियो ।