काठमाडौँ – सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् ।
बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका-८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका हुन् ।
‘मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ’, मन्त्री मोदीले भने । लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नु पर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे ।
मन्त्री मोदीले भने, ‘इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शैंयाबाटै मृत्युसँग जुधिरहनु भयो ।’ सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’ नै हुने गरेको र हरेक मनिसको मृत्यु फरक-फरक ढङ्गले हुने गरेको उनको भनाइ थियो ।
सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ ।