कञ्चनपुर– कञ्चनपुरका डेढ लाख बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०७८/०७९मा डेढलाख बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइन लागिएको बताए ।
बालबालिकालाई खोप लगाउने अभियानको तयारी भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुँवरले बताए । उनका अनुसार कञ्चनपुरका ५२४ खोप केन्द्र मार्फत आगामी २५ चैत्रदेखि १८ वैशाखसम्म खोप अभियान संचालन गरिनेछ ।
खोप अभियानका लागि जनस्वास्थ्यकर्मी सहितका सबैलाई तालिम दिइसकेको स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार कम्तिमा २ सय विद्यार्थी भएको विद्यालयमा एक खोप केन्द्र राख्ने तयारी गरिएको छ । सामुदायिक विद्यालय र संस्थागत केन्द्रबाट खोप लगाइने छ ।
कार्यालय प्रमुख सुनारका अनुसार जिल्लाका १ लाख ६१ हजार ८७५ बालबालिकालाई खोप दिइने छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले राष्ट्रिय खोप अभियान कार्यक्रम भएकाले सहयोगका लागि सबैलाई अपिलसमेत गरेको छ ।