धनगढीः आज सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। राति देशभर मौसम सामान्यतया सफा रहने छ।
हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाको विश्लेषण छ।