काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् ।
सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रूपमा लागेको बताएका हुन् ।
भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यबद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न चालेका कदमहरूको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको र विदेशी मुद्राको सञ्चिति पनि बढेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्ने लगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अङ्ग, निजी क्षेत्र र सबै सरोकारवालाहरूले समन्वयात्मक पहल गर्नुपर्नेमा जोड दिए ।
उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्त्वपूर्ण कदम चालिएको, सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरूबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको र किसानहरूले सहज रूपमा पाउने गरी मलको आपूर्ति सुनिश्चित हुन लागेको धारणा राखे ।
राष्ट्र बैङ्कले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी–व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको भन्दै उनले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।