दाङ– प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ । प्रेस काउन्सिल नेपालले आज दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा आचारसंहिता बनाएको बताउनुभयो । यसअघि काउन्सिलले नेपाली, मैथली र नेपाल ९नेवारी० भाषामा आचारसंहिता जारी गरिसकेको छ ।
त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागू गर्न चुनौती देखिएको बताउनुभयो । थारुमा लेखपढमा अभ्यास नहुँदा पनि प्रयोगमा आउन नसकेको उहाँको भनाइ थियो । उहाँले उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्रदेखि ऐच्छिकरूपमा पठनपाठनमा ल्याउने तयारी रहेको बताउनुभयो । पत्रकारिता क्षेत्र समाजको ऐना भएको भन्दै उहाँले यसको मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृति हस्तान्तरण हुँदै जानुपर्ने भए पनि लोप हुँदै जान थालेको देखिएको बताउनुभयो । बाह्य संस्कृतिको अनुसरण गर्नुले पनि भाषा र संस्कृतिमा चुनौती थपिएको उहाँको भनाइ छ ।
महासङ्घलाई आचारसंहिता बोर्ड
प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान गरेको छ । काउन्सिलले आज पत्रकार महासङ्घ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड र काउन्सिलले प्रकाशन गरेको पुस्तक प्रदान गरेको हो ।
काउन्सिलका अध्यक्ष बस्नेतले नेपाल पत्रकार महासङ्घ दाङका उपाध्यक्ष सन्तोष सुवेदी र सचिव आरके शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहायअनुसार कार्य गर्नुहँुदैन लेखिएको बोर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तक प्रदान गर्नुभएको थियो । रासस