काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा एक मात्र पदमा उम्मेद्वारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ। आयोगले पाँच दिन अघि दललाई पठाएको निर्देशन पत्रमा एक मात्र पदमा उम्मेद्वारी दिँदा महिलालाई अघि सार्नुपर्ने शर्त राखेको हो।
आयोगले दलहरुलाई पठाएको निर्देशन पत्रको बुँदा नम्बर ६ मा उल्लेख गरिएको छ, ‘स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने।’
स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहमा उम्मेद्वारी दिँदा एउटा दलले प्रमुख वा उपप्रमुख मध्ये एक जना उम्मेदवार महिला हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर एउटा मात्रै पदमा उम्मेदवारी दिँदा भने कुनै व्यवस्था नगरे पनि आयोगले महिलालाई अघि सार्न निर्देशन गरेको हो।
गठबन्धन बनाएर चुनावमा जाँदा फरक फरक दलले पुरुषलाई मात्रै उम्मेदवार बनाउने संभावना बढेपछि आयोगले एक मात्रै पदमा उम्मेदवारी दिँदा पनि महिलालाई अघि सार्न भनेको छ। आयोगको यो निर्णयले गठबन्धनमा आबद्ध भएर चुनावी प्रतिस्पर्धा गर्ने दललाई असर गर्ने देखिन्छ। भागवण्डा गरेर चुनावमा जाँदा महिला नै हुनुपर्दा पुरुषले उम्मेदवार बन्ने अवसर खोसिने अवस्था आउन सक्छ।