कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्द फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । तीन कट्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर विक्री गर्दा उनले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।
उनी इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताएका छन् ।
फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल, प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गरेका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए ।
विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्द कहीँ कतैबाट पनि नर्सरीका लागि अनुदान/सहयोग नलिएको बताउँछन् ।