धनगढी: भू–स्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा पहिलोपटक यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ।
सम्मेलनको पूर्वतयारीका सिलसिलामा हिजो धनगढीमा भएको छलफलमा सो जानकारी दिइएको हो। सम्मेलनको तयारीस्वरुप भएको छलफलमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ। समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री शाहले खप्तडको विकासका लागि सबैबाट सकारात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको बताए ।
प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने जनाइएको छ । समुद्री सतहबाट झण्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायतको दृष्टिले महत्वपूर्ण रहेको छ।
सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। जडीबुटी पनि पाइन्छन । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ।