धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा २ मन्त्रालय नभइनहुने अडान राखेको छ। सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री बनाउने निर्णय गरेको सो पार्टीले यस्तो अडान राखेको हो।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले २ मन्त्रालय आफूहरुले पाउनुपर्ने बताए। उनका अनुसार रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरिएको छ। तर, सामाजिक विकास भने माओवादीले पाउने सम्भावना छ।
त्यस्तो अवस्थामा नाउपाले एकै मन्त्रालयमा चित्त बुझाउनुपर्ने हुनसक्छ। आज या भोलिमै सुदूरपश्चिममा सरकार विस्तार हुने बताइएको छ।
अहिलेसम्म यहाँ माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम सिफारिस गरेको छ। रमेशसिंह धामीलाई वन तथा वातावरण मन्त्रालय, झपटबहादुर साउद सामाजिक विकास मन्त्रालय र गीतादेवी माललाई सोही मन्त्रालयको राज्यमन्त्रीमा सिफारिस गरिएको छ। काँग्रेसको भने एक मन्त्रालय भाग परेकोमा मन्त्री टुंगो लागेको छैन।