धनगढी: धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले मृतकका परिवारको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका केसीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।
उनकाअनुसार केसी शनिबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । यस्तै किटानी जाहेरीमा आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भनिएका माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर सन्दीप भट्टराई भने फरार छन् ।
प्रहरीकाअनुसार उनी मृतक शाहसँग प्रेम सम्बन्धमा थिए । मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए ।
माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।