गुलरिया – संघीय सांसद एवम् पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतमले आठौं दिनमा अनसन तोडेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाइएका १५ बुँदे मागहरू सरकारले पूरा गर्ने लिखित सहमती गर्दै जुस पिलाएपछि गौतमले अनसन तोडेका हुन्।
सम्झौताअघि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता गरिएको थियो। वार्तापछि मन्त्री सहितको टोली अनसनस्थल पुगेर सम्झौता आदानप्रदान गरेका हुन्।
मन्त्री ज्वालाले अनसनका क्रममा उठाइएका सबै मागहरू पूरा गर्ने प्रतिवद्धता गरे। गौतमले उठाएका सबै माग बर्दियाली जनताको पक्षमा रहेकाले प्रधानमन्त्रीदेखि राज्यका सबै नेतृत्वमा रहेका नेताहरूको मन्जुरीमा सरकार माग पूरा गर्न प्रतिबद्ध भएको उनको जिकिर थियो।
जेठ महिनादेखि जब्दीघाटको नयाँ पुल निर्माणको टेण्डर प्रक्रिया सुरु गरिने मन्त्री ज्वालाले प्रतिबद्धता गरेका छन्। संसदमा पटक पटक माग राखे पनि पूरा नभएको र अनसनपछि पूरा गर्ने प्रतिबद्धता आएपछि सांसद गौतमले खुशी व्यक्त गरे।