बर्दिया: एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा बर्दियाका २ युवक समातिएका छन्।
घुम्न जाऔं भन्दै मोटरसाइकलमा राखेर जंगलमा पुर्याइ बलात्कार गर्ने बर्दियाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियार पक्राउ परेका हुन्।
उनीहरूले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्याइ बलात्कार गरेका थिए।
पीडित किशोरी घरमै बसिरहेको समयमा चिनजानका दुई व्यक्तिले किशोरीलाई बजारतिर घुम्न जाऔं भनेर ठाकुर बाबा– ७ स्थित मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए।
पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन्। ब्लात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार बिहान १ बजे गाउँमा हिँडिरहेको बेला नियन्त्रणमा लिएको थियो।
पीडितको स्वास्थ्य परीक्षण भइसकेको र आरोपितले घटना स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।