बझाङ: आफूलाई बाम विश्लेषक भनेर परिचित गराउने भरत दाहालले एक अन्तर्वार्तामा बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाले सैन्य क्याम्प स्थापना गरेको भनेर बोलेका छन्।
उनले सो क्षेत्रको ठुलो भूभाग अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको अभिव्यक्ति समेत दिएका छन् । दाहालले केही व्यक्ती, प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र सरकारलाई अमेरिकी सैन्य क्याम्प खडा गर्ने मतियार भनेका छन्।
उनले तरुण दल बझाङ अध्यक्ष विष्णु ऐडी, स्थानीय विराट कठायत, साइपाल गाउँपालिकाकी रन्जिता धामीले अमेरिकी सैनिकलाई सहजीकरण गरेको अभिव्यक्ति दिएका छन्।
यस विषयमा ऐडीले उक्त आरोप झुठो भएको बताएका छन्। उनले सैन्य क्याम्प खडा भएको दाबी गरिएको साइपाल गाउँपालिकामा अहिलेसम्म आफू पुग्न समेत नसकेको बताए।
ऐडीले उक्त क्षेत्रमा अमेरिकी सेना पुग्यो कि पुगेन भन्ने बारेमा प्रशासन र सुरक्षा निकायले छानबिन गर्नुपर्ने माग राखेको बताए। विश्लेषक भनिएका दाहालको उक्त अभिव्यक्ति भ्रमपूर्ण भएको उनको दाबी छ।
यस्तै बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले पनि दाहालको अभिव्यक्ति भ्रमपूण भएको बताएका छन्। उक्त क्षेत्रमा कुनै बाह्य शक्तिको उपस्थिति नरहेको पाण्डेले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा उक्त विषय चर्चामा आएपछि आफूले जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा स्थानीयसँग सोधपुछ गरेको प्रजिअ पाण्डेले बताए। ‘त्यो सुनिकोट भन्ने ठाउँ साइपालको भूभागमा पर्दैन । रन्जिता धामी भन्ने व्यक्ति त्यहाँ छैनन्’ उनले भने।