बाजुरा: बाजुरामा बिहे गर्न पुगेको एक जोडीका लागि मन्दिरको ढोका बन्द भएको खबर आएको छ। आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न मन्दिर पुगेका उनीहरु झ्यालबाट फूल चढाएर फर्किएका छन्।
बाजुराका प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनार बिहे गर्ने निधो गरेर हिजो सोमबार मार्तडीमा रहेको मालिका मन्दिर पुगेका थिए। गएको चैत्रदेखि नै प्रकाश र पार्वतीसँगै बस्दै आएका उनीहरुले अस्ति नै मन्दिरका पूजारीलाई आफूहरु भोलि आउने भनेर खबर समेत गरेका थिए।
तर, साइत अनुसार नै माइती पोइली पक्षबाट मन्दिर पुगेका उनीहरुका लागि ढोका बन्द गरेर पुजारी सम्पर्कविहिन बने।
विवाहको पोशाकमा सजिएका बेहुला-बेहुलीका आफ्न्तले पूजारी देवराज पाध्यायलाई फोन गरे, तर सम्पर्क हुन सकेन। अन्तमा उनीहरु मन्दिरको झ्यालबाट फूल चढाएर फर्किएका छन्।
आफन्तले दलित भएकै कारण मन्दिरमा प्रवेश गर्ने वातावरण नबनाइएको र पूजारी सम्पर्कविहिन भएको आरोप लगाएका छन्।
उक्त घटनापछि मन्दिर व्यवस्थापन समिति र पूजारी सहितलाई विपक्ष बनाएर जातीय विभेद गरेको भन्दै निवेदन दिइएको छ।
मालिका मन्दिरमा यसअघि पनि दसैँ मनाउने विषयलाई लिएर दलित र गैर दलित समुदायबिच विवाद भएको थियो। दुवै पक्षका केही व्यक्तिहरू घाइते भए। केही बालबालिका समेत कुटिएका थिए।