काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्दा तीन करोड रकम बुझाएको खुलासा गरेका छन् ।
उनले आफूलाई समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका हुन् । उनले सभापति रवि लामिछाने निकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन् ।
उनले सुरुमा ढकाललाई पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा एक करोड रकम दिएको र पछि कार्यालयमै गएर अर्याल र ढकाल दुबैलाई एक करोड ८४ लाख दिएको बताएका छन् ।
समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाएपनि पार्टी काममा खटिँदा शीर्ष नेताहरूले लाखौँ रुपैयाँ खर्च गर्न बाध्य पारेको उनको भनाइ छ ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि ढाकाकुमार चर्चामा आएका थिए ।