धनगढीः धनगढीको मालपोत रोडमा रहेको चिया कफी घरले अस्पतालका बिरामी र ज्येष्ठ नागरिकलाई निःशुल्क चिया उपलब्ध गराउने भएको छ ।
यस्तै, अस्पताल भर्ना भएका बिरामीलाई कम मूल्यमा खाना उपलब्ध गराउने भएको हो । बुधवारबाट चिया, कफी र नास्तासँगै नेपाली खाना बिक्री गर्न थालेको चिया कफी घरले जोरायली बासमती चामलको भातसहितको साकाहारी खाना १८० मा उपलब्ध गराउने सञ्चालक खेमराज जोशीले बताए । बिरामीबाट भने खानाको एक सय मात्रै लिने जोशीले बताए ।
जोरायली बासमती चामलको भात, दाल, लोकल चिकेन, थारु आलु र पहाडे आलुको तरकारी, मही, अचार र नेपाली सलाद खानामा राखिएका छन् । चिकेन खानाको भने ३५० मूल्य निर्धारण गरिएको छ ।
शुद्ध दुधमा टाटा गिल्ड चियापत्तीको मट्का चिया बनाउँदै आएका जोशीले खानासँगै भक्तपुरे जुजुधौ बनाउन थालेका छन् । नन्दा मदन सामाजिक प्रतिष्ठान स्थापना गरेर समाज सेवा गरिरहेका जोशीले लकडाउनमा व्यवसाय थाल्ने सोच पलाएको बताएका छन् ।