कैलाली : बागेश्वरी असल शासन क्लब बास कैलाली शाखाले भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत बास कैलालीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
बास नेपालले देशभर आफ्नो अभियानलाई तीव्ररुपमा अगाडि बढाएको र सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर भएर लाग्नुपर्ने धारणा बास कैलालीका जिल्ला अध्यक्ष चिरञ्जीवी छेडालले राख्ने । ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
यस्तै भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा जोड दिनुपर्ने, भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गर्नुपर्ने र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको रणनीति अवलम्बन गर्नुपर्ने जस्ता १० बुद्धे माग रहेका छन् । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भ्रष्टाचार नियन्त्रणमा सबैले आ आफ्नो तर्फबाट लाग्नुपर्ने धारणा व्यक्त गरे ।
उनले सबै आफ्नो आफ्नो आचरणमा सुधार गरे भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुने बताए । बास नेपालले भ्रष्टाचार विरुद्ध ७७ ओटै जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।