राम धामी
नेपाली काँग्रेस डडेल्धुराले सत्तारुढ गठबन्धनसँग चुनावी एकता गरेर स्थानीय तहको निर्वाचनमा होमिन निकै लचकता देखाईरहेका बेला जिल्लाका अधिकांस नेता कार्यकर्ताहरुले गठबन्धनका नाममा पेल्न खोजिएमा तत्काल सामुहिक विद्रोह गर्ने चेतावनी दिएका छन् ।
नेपाली काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका बेला जिल्लाभरिका चार सय ६० जना कृयासिल सदस्यको नामावली काटेर माओवादीबाट समायोजनका नाममा तीन सय १२ क्रियासिल सदस्यता केन्द्रबाटै थप गरिएपछि छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले निर्णय गरेर असन्तुष्टी जनाउँदै सातौं जिल्ला अधिवेशनमा भाग लिएको थिएन ।
तत्कालिन जिल्ला कार्यसमितिको सहभागिता बिनै सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएकाले डडेल्धुरामा नेपाली काँग्रेस दुई खेमामा बाडिएको छ । छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति कर्णबहादुर मल्लसहितका जिल्लास्तरीय नेताहरुले पार्टी एकताका लागि अन्तिम अबस्थासम्म पहल गरिरहेको जनाएका छन् ।
तत्कालिन जिल्ला कार्यसमितिको सहभागिता बिना एकलौटी रुपमा सातौं जिल्ला अधिवेशनबाट घोषित नेपाली काँग्रेस डडेल्धुराका सभापति भिमबहादुर साँउदले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीलगायतका दलहरुसँग मिलेर गठबन्धन गरेर निर्वाचनमा जाने तयारी थालेका छन । यसअघि सात स्थानीय तहमध्ये चार स्थानीय तहको नेतृत्वमा रहेको नेपाली काँग्रेसले हाल तीन स्थानीय तहको नेतृत्व लिनेगरि गठबन्धन गर्ने सहमति भईरहेको राजनीतिक दलका नेताहरु बताउछन । यसअघि एक स्थानीय तहको नेतृत्व गरेको माओवादी केन्द्रलाई हाल तीन स्थानीय तह र एकीकृत समाजवादीलाई एक स्थानीय तहमा नेतृत्व दिने सहमति भईसकेको जनाइएको छ ।
काँग्रेसका इमान्दार नेता कार्यकर्ताहरुलाई पाखा लगाएर गठबन्धनका नाममा अन्य राजनीतिक दलहरुसँग मिलोमतो गर्ने काम भएको भन्दै छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा जिल्लास्तरीय नेताहरुले आसन्न स्थानीय तह निर्वाचनका लागि छुट्टै अभियान सञ्चालन गरिरहेका छन । असन्तुष्ट नेता कार्यकर्ताहरुले आईतबार जिल्लाको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिका, सोमबार प्रधनमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहकादुर देउवाको गउृहपालिका रहेको गन्यापधुरा र मंगलबार सदरमुकामस्थित अमरगढी नगरपालिकामा कार्यकर्ता भेलाको आयोजना गरेर गठबन्धनका नाममा थप पेल्न खोजिएमा सामुहिक विद्रोह गर्ने चेतावनी दिएका हुन् ।
हालसम्म पार्टीलाई विधिसम्मत सञ्चालन गर्न पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवालाई पटक पटक आग्रह गरे पनि कुनै सुनवाई नभएको र हाल आएर स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्ने नाममा पार्टीका इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाइएकोले समानान्तर गतिविधी सञ्चालन भईरहेको नेपाली काँग्रेस डडेल्धुराका नेता हरिप्रसाद भट्टले बताए ।
सातौं जिल्ला अधिवेशनका बेला सभापति पदका प्रत्यासी रहेका भट्टले पार्टी नेतृत्वले विधि विधान मिचेर इमान्दार कार्यकर्ताहरुलाई पेलेर लैजान खोजेकाले सामुहिक विद्रोहको विकल्प नभएको जिकिर गरे । उनले पार्टी नेतृत्वले टिकट नदिए पनि आफुले अमरगढी नगरपालिकाको नगरप्रमुखका लागि उम्मेदवारी घोषणा गरेर चुनावी अभियान सञ्चालन गरिरहेको बताए ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोग पाएर पनि नेपाली काँग्रेस डडेल्धुराको छैटौं जिल्ला अधिवेशनमा पराजित भएर पार्टीका नेता कार्यकर्ता माझ अलोकप्रीय सावित भएका र २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा नराम्रेरी पराजित भएर मतदाताहरुका बीचमा शाख जोगाउन नसकेका पुर्व सभापति रघुबर भट्टले सातौं जिल्ला अधिवेशनका क्रममा क्रियासिल सदस्यता विवादका कारण असन्तुष्ट काँग्रेस नेता कार्यकर्ताहरुलाई गठबन्धनमा सहभागी नभए कारवाही गर्ने चेतावनी दिएका छन । भट्ट सभापति देउवाका विश्वासपात्र नेता हुन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बेलामा गृहजिल्लामा गुटबन्दी चलाएर नेता कार्यकर्ताहरुमाथि अन्याय भईरहेकाले इमान्दार नेता कार्यकर्ताहरु धर्मसंकटमा परिरहेको नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए । उनले काँग्रेसका नेता कार्यकर्ताहरु एकढिक्का भएर स्थानीय तहको निर्वाचनमा होमिएमा डडेल्धुराका सातवटै स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने जिकिर गरे ।