कैलाली: तातो हावापानी रहेको कैलालीमा स्याउ फलेको छ। कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले स्याउ फलाएका हुन्।
उनले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गरेका छन् । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन्। तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन्।
ओलीले एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएका थिए। यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुनेगरेको उनले जानकारी दिए।
प्रदेश सरकारको सहयोगमा उनले स्याउ खेती गरेका हुन्। यो प्रदेशको लागि एकदमै नौलो मानिएको छ। हालसम्म ७५ लाख रुपियाँ लागत लागेकोमा प्रादेशिक कृषि निर्देशनालयबाट साढे १० लाख र कृषि ज्ञान केन्द्रबाट साढे चार लाख गरी प्रदेश सरकारबाट १५ लाख रुपियाँ अनुदान पाएको ओलीले बताए।