धनगढीः सुदुरपश्चिम पृतना हेड क्वाटरले लम्कीचुहा नगरपालिका वडा नम्बर –३ स्थित कर्णाली नदीमा मनसुन जन्य विपद् न्युनीकरण सम्बन्धि संयुक्त कृतिम अभ्यास सञ्चालन गरेको छ।
उक्त अभ्यासमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, युएनडिपी, विश्व दृष्टि नेपाल लगायत संघ संस्थाको सहभागिता रहेको थियो। अभ्यासमा नेपाली सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई मोटर डुङ्गा , रबरबोट र डोरीबाट खोज तथा उद्धार अभ्यास गरेको थियो। साथै खोचमा फसेका व्यक्तिहरुलाई क्यराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास पनि गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले नदीमा वेपत्ताहरुको खोज तथा उद्धार तथा नेपाल प्रहरीले समेत रबर बोटबाट अभ्यास गरेको थियो। अभ्यासमा बोट पल्टाउने अभ्यास, घाईते विरामीलाई उपचार तथा इभाकुशन ड्रील प्रदर्शन गरिएको थियो। साथै गैर सरकारी संघ संस्थाबाट कार्य पकृति अनुरुप अभ्यास सञ्चालन गरिएको थियो।
यस प्रकारको संयुक्त कृत्रिम अभ्यासले विपद्को समयमा एकीकृत रुपमा परिचालन भई खोज तथा उद्धार प्रभावकारी हुने र जनधनको क्षति कम हुन्छ। स्थानीय श्रोत साधन प्रयोगबाट सिमित श्रोत साधनका बावजुत विपद्को असर न्युनीकरण गर्न सहयोग पुग्ने अपेक्षाले अभ्यास गराइएको हो।
उक्त अभ्यासमा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहरा , जिल्ला सुरक्षा समितिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो।