धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन् ।
शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको आरोप छ ।
विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो ।
यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्किटेक्चर इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएको थियो । तर, अहिले आएर समायोजनकै काम पनि पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको उनले बताए ।
यता, कैलाली बहुमुखी क्याम्पसमा क्रमशः सबै विषयको अध्यापन हुने निश्चित रहेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए ।
सुदूरपश्चिमको अग्रणी शैक्षिक धरोहरका रुपमा ख्याती कमाएको कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको थियो ।