धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अब प्रदेश सरकारले युवाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएका छन्।
आइतबार धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्। उनले अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवाहरुलाई प्राथमिकता दिने बताए।
उनले भने, ‘हामी आगामी वर्षको बजेट ल्याउँदैछौं। त्यसमा हामी युवाहरूलाई पहिलो प्राथमिकतामा राख्छौं। युवाहरूलाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट छ।’
यस्तै, उनले सुदूरपश्चिममा युवाहरूलाई राहदानी, पासपोर्ट होइन रोजगारी दिने वातावरण सिर्जना गर्ने बताए। सुदूरपश्चिमलाई समृद्ध बनाउने जिम्मेवारी युवा र राजनीतिकर्मीको काधमा रहेको उनको भनाइ थियो।