धनगढी – सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले युवालाई विदेश जाने सपना अन्त्य गराउनु पर्ने बताएका छन् ।
धनगढीमा जारी दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको समापन गर्दै मन्त्री धामीले युवालाई विदेश जाने सपना अन्त्य गरेर सुदूरपश्चिम प्रदेश बनाउने जिम्मा लिनुपर्ने बताएका हुन् । धामीले जल, धार्मिक पर्यटन, जङ्गल, जमिन उपयोग गरेर युवालाई रोजगारीमा समेटेर प्रदेश सरकार अघि बढ्ने योजना बनाइएको बताए ।
युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति, यौन तथा प्रजनन् स्वतथ्यबारे विज्ञहरूले अभिमुखीकरण दिएका थिए ।
कार्यक्रममा नेपालको जनसङ्ख्याको ४२ दशमलव ५ प्रतिशत मानिस १६ देखि ४० वर्षसम्मका युवाको रहेको उल्लेख गर्दे उनीहरूको क्षमता अभिवृद्धि र राष्ट्र निर्माणको मूल प्रवाहीकरणमा समाहित गर्नुपर्ने माग राखेर २१ बुँदे धनगढी घोषणापत्र जारी गरिएको छ ।
घोषणापत्रमा युवाको संस्थागत रूपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गर्ने, यसका लागि प्रदेश युवा परिषद् तथा स्थानीय तहमा पालिकास्तरीय युवा परिषद्को गठन गर्न, प्रदेश युवा नीति निर्माण गर्न, प्रदेशका सीमान्तकृत समुदायमा रहेका दलित समुदाय, अपाङ्गतामा रहेका युवा, मुस्लिम, मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवालगायतका समूहलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निःशुल्क व्यवस्था गरेर रोजगारीको सुनिश्चितता गर्ने बताइएको छ ।
युवालयका अध्यक्ष सन्तोष महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य किरण थापालगायतले बोलेका थिए ।