काठमाडौँ – कोसी सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नामकरणविरुद्धको आन्दोलनले उग्ररूप लिन थालेपछि सरकारले वार्ताको आह्वान गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले मङ्गलवार एक वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको जानकारी दिए ।
पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सरकारले आग्रह समेत गरेको छ ।
कोसी प्रदेश खारेज गरी पुनः नामकरणको पक्षमा रहेको सङ्घर्ष समितिका अध्यक्ष डिकेन्द्र सिंह थेगिमले आफूहरू सकारात्मक वार्ताको पक्षमा रहेको बताएका छन् ।
आन्दोलनको घटकमध्येको एक किरात मोर्चाका महासचिव डिल्ली मिभकले पनि वार्ताको पहल हुनु सकारात्मक भएको बताए ।
प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन चर्किरहेको अवस्थामा सरकारलाई वार्ता गर्न सत्तापक्ष र विपक्षी दलका सांसदहरूले वार्ता गर्न दबाब दिइरहेका थिए ।
आइतबार प्रदेश सभा सचिवालय नजिकै देवकोटा चौकमा झडप हुँदा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए । त्यसक्रममा ८६ जना आन्दोलनकारी पक्राउ परेका थिए ।
फागुन १७ गते प्रदेश सभाबाट कोसी नाम कायम भएसँगै पहिचानवादीले प्रदेशभर आन्दोलन थालेका थिए ।