काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् ।
त्यसअघि प्रधानमन्त्री दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट गएर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । लगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसक्रममा केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको बताइएको छ ।
आजै प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।