कञ्चनपुरः कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय चोरी गरेर फरार भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरु दुई दिन अगाडि मात्रै प्वालीको घरमा कोठा भाडामा लिएर बसेका थिए । बुधवार राति उनीहरुले आफ्नो घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएको र जुस खाएर सबैजना बेहोस भएका बताइएको छ ।
हिजो राति बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले सबैजनालाई होस आइसकेको र ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको बताइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
चोरी के कति भएको छ भन्ने अहिले नै सबै थाहा नभएको प्रहरीको भनाइ छ । प्वाली परिवारलाई भाडामा बस्न आएका ती भारतीयको नाम ठेगाना केही पनि थाहा नभएको जनाइएको छ । कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
तस्विर: कुन्दन पाण्डेय