डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंह कायम हुने गरि सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले अस्पतालको अध्यक्षमा नियुक्त सिंहको नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएको हो।
सिंहले नियुक्ति खारेज भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ को उपनियम २ अनुसार नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ।
सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो।
तर, जेठ ३ गते उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो। सो दिन अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए।
सिंह यसअघि अस्पताल विकास समितिको दुई कार्यकाल अध्यक्ष भइसकेका थिए।