बैतडी: सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै बैतडीका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो ।
विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको कार्यालयमा धर्ना समेत दिएका छन् । नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाबारे ग्यारेन्टी गरिने भनिए पनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएका विद्यालय कर्मचारी खेमराज जोशीले बताए ।
२६ गतेसम्म धर्ना कार्यक्रम गरिने र त्यसपछि पनि अन्य आन्दोलनका कार्यक्रम गरिने बताइएको छ । अहिले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार पाउँछन् भने लेखापालले १३ हजार ५ सयमा डिउटी बजाउनुपर्ने बाध्यता छ ।
विद्यालयमा कार्यरत कर्मचारीहरुले आफूहरु न्यून पारिश्रमिकमा काम गरिरहेको र सरकारले आफूहरुमाथि श्रमशोषण गरेको आरोप लगाएका छन् ।