डडेल्धुरा: डडेल्धुराका जनप्रतिनिधिले जातीय भेदभाव तथा छुवाछूत गरेको आरोप लागेको छ। जिल्लामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइरहेको सहभागीले उक्त अरोप लगाएका हुन्।
आइतबार जिल्ला सदरमुकाममा एक कार्यक्रमकाबीच छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको हो। दलित महिला संघ (फेडो) डडेल्धुराको आयोजनामा दिवसका अवसरमा अमरगढी नगरपालिका–५ तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालयसम्म सचेतनामूलक र्याली निकालिएको थियो।
उक्ति कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका डडेल्धुरा अध्यक्ष सुन्दर जैरुले मुलुकमा जातीय छुवाछुत अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्ने बताए। उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस दलित र त्यस सम्बद्ध अधिकारीकर्मीहरूले मात्र नभई यहाँका प्रत्येक स्थानीय तहहरूले मनाउनपर्नेमा जोड दिए। उनले आजा आयोजना भएको कार्यक्रममा समेत जनप्रतिनिधि उपस्थित नहुनुले आफूहरूप्रति भेदभाव भएको गुनासो गरे।
फेडो डडेल्धुराका सचिव अन्जु गैरेले कागजी रूपमा जातीय छुवाछुत अन्त्य भएतापनि व्यवहारिक रूपमा भने अझैं विभेद कायमै रहेको बताइन्। उनले आजको दिवस जिल्लाका स्थानीय तहले मनाउनुपर्ने तर यहाँका दलित जनप्रतिनिधिले समेर बेवास्ता गरेको गुनासो गरिन। उनले जनप्रतिनिधिहरुले यस्ता दिवसमा सहभागी नहुनु तथा कार्यक्रम आयोजना गर्नुले उनीहरुको मानसिकतामा अझै पनि विभेद रहेको प्रष्ट भएको बताइन्।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जातीय छुवाछुतसम्बन्धी घटनामा प्रहरी संवेदनशील भएर लागिरहेको बताए। उनले आगामी दिनमा पनि यस्ता किसिमका घटनाहरूमा प्रहरी प्रहरी संवेदनशील भएर लाग्ने प्रतिबद्धतासमेत जनाए।
‘जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं’, ‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गरौं’, ‘विभेद रहित समाजको स्थापना गरौं’लगायतका प्लेकार्ड बोकेर र्याली निकालिएको थियो। जिल्ला प्रहरी कार्यालय अगाडि आयोजित कोषसभामा बोल्ने वक्ताहरुले समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै पनि अन्त्य हुन नसकेको बताएका थिए।