धनगढी: कैलालीमा एक युवती मृत फेला परिन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया युवती कबिता बुढा मृत फेला परेकी हुन्। उनी विवाहित महिला हुन्।
प्रहरी स्रोतका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाई छ।
मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन्। केही दिनअघि मात्रै उनको ससुरासंग झगडा भएको बताइएको छ। ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ।
उनी घरमा सासू ससुरा र देउरानीसंग बस्दै आएकी थिइन्। अहिले प्रहरीले सासुलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। तर ससुरा भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।